दमक/ नेपाली कांग्रेसका नेताहरुले झापा ५ को निर्वाचनका बिषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालहरुमार्फत बाहिर आएका बिषयहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै त्यस किसिमका झुठा र अनर्गल प्रचारको खण्डन गरेका छन् ।
कांग्रेस झापा ५ को चुनाव प्रचार प्रसार अन्तर्गतको सूचना सञ्जाल समन्वय समितिको आयोजनमा आज बिहान दमकमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेताहरुले पत्रकारिताको सामान्य मूल्य मान्यता , सिद्धान्त र निर्वाचन आचारसंहिता विपरितका तथ्यहिन र भ्रामक सूचनार समाचारहरुले वास्तविक सूचना पाउने नागरिकहरुको अधिकार हनन भएको उल्लेख गरेका हुन् ।

झापा ५ का कांग्रेसका तर्फबाट प्रत्यासी उम्मेदवार मन्धरा चिमरिया पौडेलको उपस्थितीमा आयोजित सो कार्यक्रममा विघटित संसदको ठुलो दल कांग्रेस रहेको र अघिल्लो निर्वाचनमा झापा ५ मा समेत निकटतम प्रतिस्पर्धी दलको हैसियत बनाए पनि सञ्चारमाध्यमहरुले दलहरु र उम्मेदवारको मर्यादा विपरित सामग्री प्रस्तुत गर्ने गरेको र चौथो, पाँचौ दलका उम्मेदवार प्राथमिकतामा राखेर पत्रकारिताको धज्जी उडाइरहेको भन्दै निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।
कांग्रेस केन्द्रिय सदस्य सुरेश सुब्बाले सर्लाही र झापाका बिषयलाई जोडेर प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जाल मार्फत बाहिर ल्याइएको प्रचारमा कुनै सत्यता नरहेको र यसले सञ्चार जगतको विश्वसनियतामाथिनै प्रश्न चिन्ह खडा गरेको टिप्पणी गरे ।
कल्पना गरेर कसैको स्वार्थपूर्तिका लागि बनाइएका सूचना सामग्री सामाजिक सञ्जालबाट बाहिर ल्याउनु अघि जिम्मेवारी र कर्तव्यको ख्याल राख्नु पर्ने उनको सुझाव छ । कसैसँग तालमेल, गठबन्धन आदि इत्यादीको बिषयमा भ्रम फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्ने र कांग्रेसप्रति नकारात्मक धारणा बनाउन भुमिका खेल्ने तत्वहरुको पहिचान गरिसकेको भन्दै उनीहरुका विरुद्ध कानुनी उपचार खोज्ने नेता सुब्बाले चेतावनी दिए ।
कांग्रेस झापाका कार्यवहाक सभापति शेरबहादुर भट्टराईले झापा ५ का बिषयमा देश विदेशबाट भ्रम फैलाउने गलत प्रयास भइरहेकाले नागरिकहरु त्यसप्रति सचेत हुनुपर्ने बताए । उनले कांग्रेस भित्र उम्मेदवारीका बिषयमा कुनै मत मतान्तर नरहेको र एक ढिक्का भएर नेता, कार्यकर्ताहरु चुनावमा होमिएकाले परिणाम सुखद ल्याउन मतदाताहरुले साथ दिने विश्वास व्यक्त गरे ।
कांग्रेस झापा ५ का सभापति ढुण्डीराज भण्डारीले झापा ५ मा गुमेको कांग्रेसको विरासत यसपटक फर्काएरै छोड्ने दृढ अठोट र प्रतिबद्धतासहित नेता, कार्यकर्ताहरु चुनावी माहोलमा होमिएको बताए । सबै किसिमका भ्रामक र तथ्यहिन कुराहरुको सिंगो कांग्रेसले प्रतिवाद गरिरहेको नेता भण्डारीको भनाई छ ।
विपक्षीहरु झापा ५ मा कांग्रेस निर्वाचन जितको नजिक पुगेको देखेपछि अत्तालिएर सामाजिक सञ्जाल दुरुपयोग गर्ने, मतदाताको गोपनियता भंग गर्ने जस्ता गैह्रजिम्मेवार क्रियाकलापमा लागेको भण्डारीको आरोप छ । सञ्चारमाध्यमहरुलाई निष्पक्ष , स्वतन्त्र पत्रकारिता मार्फत पत्रकारिताको मूल्य मान्यता र सिद्धान्तमा रहेर समान व्यवहार गरे मात्रै लोकतन्त्रको रक्षा हुने , लोकतन्त्रमानै नागरिकहरुको सर्वोच्चता कायम रहने नेताहरुको भनाई छ ।