बिर्तामोड ।
झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो कार्यक्रमको रूपमा ‘घुमौँ झापा साइकलमा’ आयोजना गर्ने भएको छ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ ।

कार्यक्रम फागुन ३०, चैत १ र २ गते हुने क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रूपमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमअन्तर्गत झापाका विभिन्न १२ वटा पालिकाहरुको यात्रा गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा तय हुनेछ ।

मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका सचिव हिमाल खरेलले बताए ।

पर्यटन कार्यालय, काँकरभिट्टाबाट सुरु हुने यात्रा बाहुनडाँगी–४९ धारा)मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिनेछ ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माईधार–चिल्लागढधाम–शिवगञ्ज बजार–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिनेछ ।

तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दिबारी हुँदै विराटपोखरी भएर बिर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयमसेवक रहनेछन् । कार्यक्रममा कम्तिमा २० प्रतिशत महिला र कम्तिमा २० प्रतिशत झापाबाहिरका सहभागी हुनेछन् ।

झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहोर पर्यटन प्रवद्र्धन गर्न, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको सचिव खरेलले बताए ।

त्यस्तै, महिला तथा युवाको बाहिरी तथा साहसिक गतिविधिमा सहभागिता बढाउन, आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्र (होटल, होमस्टे, भोजन सेवा) लाई सहयोग पु¥याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भूभागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रममार्फत झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न खोजिएको छ । कार्यक्रमको मुख्य प्रवर्तकको रूपमा पर्यटन कार्यालय काँकरभिट्टा झापा रहेको छ ।