झापा ।
प्रविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वल्र्ड स्कूलको वार्षिकोत्सवमा विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका छन् ।

बिर्तामोड–१ स्थित विद्यालयको हाताभित्र आयोजित सांस्कृतिक कार्यक्रममा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीले कविता, नाटक, वक्तृत्व र संगीतसहित नृत्य प्रस्तुत गरेर उपस्थित अभिभावक तथा अतिथिहरूलाई दंग पारे ।

कार्यक्रमको उद्घाटन मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले द्वीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो ।

कक्षा ३–५ का छात्राले सरस्वती वन्दना प्रस्तुत गर्दै सांगीतिक सुरुवात गरे भने अस्लेषा समूहबाट सेफायर नृत्य प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा शिक्षक सुशीला घिमिरे र विद्यार्थी सागर ढकाल तथा एञ्जीला विमलीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, सहकार्य भावना र नेतृत्व क्षमताको विकास गर्ने विद्यालयको उद्देश्य झल्काएको थियो ।