पथरी शनिश्चरे नगरपालिकामा निर्माणाधीन प्रमुख प्रशासनिक भवन निर्माण कार्य अब पूरा हुने भएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान नरोकिने भएपछि सो भवन बन्ने पक्का भएको हो । केही दिन अघि नगरपालिकाका जनप्रतिनिधिले भौतिक पुर्वाधार मन्त्री कुलमान घिसिङ लाई भेटेर भवन निर्माणको अबस्था बारे जानकारी गराएका थिए । मन्त्रीबाट अनुदान नरोकिने आश्वासन पाएका जनप्रतिनिधिहरुले अब पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न हुने बताएका छन ।
नगर प्रमुख मोहन तुम्बापोका अनुसार नगरपालिकाको आन्तरिक बजेटबाट नै भवन निर्माण सुरु भइसकेको र अनुदान प्राप्तिका लागि आवश्यक कागजातहरू क्रमबद्ध रूपमा पेश भइरहेको थियो । अहिले अनुदानको रकम प्राप्ति निश्चिति भएको हो ।
गत आइतबार नगर प्रमुख तुम्वापो, युवा अभियन्ता गणेश कार्की सहितको टोलीले सहरी विकास मन्त्रालयमा मन्त्री माननीय कुलमान घिसिङसँग भेटघाट गरेको थियो । भवन निर्माणका लागि संघीय अनुदान नआएका कारण उत्पन्न भएको समस्या उहाँहरूद्वारा मन्त्रीसमक्ष राखिएको थियो ।
स्थानीय पूर्वाधार विकास कार्यक्रम (DOLI) को बैठकबाट पथरी शनिश्चरे नगरपालिकाको नाम अनुदानका लागि छनौट भइसकेको युवा अभियान्ता गणेश कार्कीले बताए ।

साथै यो बाहेक पथरी शनिश्चरे नगरपालिकाको पथरी–डायनिया सडकका लागि विनियोजित ६ करोड रुपैयाँ अर्थ मन्त्रालयले देशभरको बजेट रोक्का गरेसँगै रोकिएको हुँदा उक्त रकम छिट्टै सञ्चालनमा ल्याउन माग गरिएको छ नगर प्रमुख तुम्बापोले बताए । यसैगरी मनमोहन–गान्धी सडक निर्माण कार्य ढिलाइ भएकाले तुरुन्तै काम अगाडि बढाउन, अन्यथा ठेक्का रद्द गरी ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने विषयमा पनि मन्त्री घिसिङ समक्ष ध्यानाकर्षण मेयर तुम्बापोले जानकारी दिए ।