
बहसस्थल : १२ गरे, झापा ५ ।
युट्युबसिं फत्ते : बा फेरि पनि उठेको ?
गुण्डुबा : विरामी भए पो सुत्नु त । सन्चो भएपछि त उठ्नै पर्याे नी ।
युट्युबसिं फत्ते : हैन चुनाउमा किन उठेको पो भनेको त ।
गुण्डुबा : चुनाउमा सुत्नु हुँदैन । उठीरहनु पर्छ । यतिका मान्छे चुनाउमा उठेका छन् तेही भएर उठेको । दुई दर्जन मान्छे यही क्षेत्रमा उठेका छन् । मैले मात्रै नउठ्नु भन्ने कतै शास्त्रमा लेख्या छ ?
युट्युबसिं फत्ते : जेन्जी विद्रोहपछि बुढाखाडाले नउठुन भन्ने जनमत छ । जनमतलाई कदर गर्नु पर्दैन ?
गुण्डुबा : बुढाखाडाको प्रतिनिधित्व गर्न उठेको हुँ । जेन्जीसेन्जी म जान्दिन । तिनलाइ त म भुत्ला जति पनि गन्दिन । मैले उठीन भने यो देशको गाडी हाँक्ने डाइभर नै हुँदैन । डाइभर नभाको गाडी पनि कतै हुँईकिन्छ ? डाइभर बेगर त गाडी दूर्घटना भै हाल्छ नी ।
युट्युबसिं फत्ते : आजकाल गाडी डाइभरले होइन रिमोटले चलाउँछ भन्नेसम्म थाहा छैन ? संसारभर गाडी बिना डाइभर चल्ने आइसक्यो त ।
गुण्डुबा : तिम्रा देशमा बिना डाइभरको गाडी आयो होला । हाम्रो झापामा त बयल गाडी मात्रै छ ।
युट्युबसिं फत्ते : अब प्रसंग बदलौं । चुनाउमा धक्का दिन बालेन आइ सके । बालेनले बालाई चुनाउमा देखाइ दिने भन्दैछन् ।
गुण्डुबा : अरिङ्गाल खायौं, बच्छ्यौं खायौं, नाथे झुसे बारुला । अढाइ सहे वर्षको जब्बरे मोटो ‘श’ वाला शाह, ठकुरीलाई नागार्जुन पठायौं । नाथे पातलो ‘स’ वाला तेलीले तेल पोखेर चिप्ल्याउँछु भनेर नसोचे हुन्छ ल ।
युट्युबसिं फत्ते : भिडभाड होहल्ला त बालेन कै पक्षमा देखिन्छ । भोट परिवर्तन गर्ने भन्दैछन् । कालो चेस्मा, कालै लुगा, कालो गाडीमा बालेन हुँइकेका छन् ।
गुण्डुबा : त्यो सबै मालपानीको करामत हो । दमकको आकाशे पुलमुनि मात्रै जात्रा देखाएर हुन्छ ? ढुकुरपानी, गौरादह, गौरीगञ्ज, तोपगाछी, चियाबारी, स्कुल चौनी, १२ गरे तेसको कालो चेस्माले देखेकै छैन । कालो चेस्मा, कालो लुगा, कालो गाडीमा कालो अनुहार देखाएर मात्रै हुने वाला केही छैन ।
युट्युबसिं फत्ते : ढुकुरपानी, गौरादह, गौरीगञ्ज, तोपगाछी, चियाबारी, स्कुल चौनी, १२ गरेमा चैं के छ त्यस्तो र ?
गुण्डुबा : ढुकुर पानीमा ढुकुरले कसरी पानी पिउँछ ? किन त्यसको नाम ढुकुर पानी रहन गयो ? त्यो मलाइमात्र थाहा छ । गौरादहमा स्वर्गकी अप्सरा गौरा कसरी आइपुगिन् ? गौराले त्यहाँ कहिले कसरी पौडी खेलिन् ? स्वीमिङ् कस्टम लगाएर पौडि खेलिन्, कि नाङ्गै भुतुङ्गै खेलिन् ? गौरादह नाम प्राग ऐतिहासिक कालखण्डमा कसरी न्वारान भयो ? गौरीगञ्जको नाम कसरी रहन गयो ? स्वर्गकी अप्सरा गौरी कसरी कहिले गौरीगञ्ज पुगिन र त्यो नाम रहन गयो ? तोपगाछीमा कति तोप छन् ? ती तोप महाभारत युद्धमा कसले कसरी राख्यो ? चियाबारीको त के कुरा गर्नु तिमेर्लाइ थाहा छँदैछ । मैले गिरीबन्धु चियाबारी उडाइ दिएको तिमेर्ले नै लेखेका हउ । दमक चियाबारीको कुरै नगरौं । त्यहाँ कस्तो अर्थाेडक्स चिया उत्पादन हुन्छ ? स्कूल चौनीमा कति स्कूल पाठशाला छन् ? १२ गरेमा कति गरा, कान्ला छन् ? त्यो सब मैले अध्ययन अनुसन्धान गरेको छु । चितवनको ठोरीमा भगवान रामको जन्म भएको पनि त मैले नै पत्ता लगाएको हुँ । ठोरीमा रामको मुर्ति प्राण प्रतिष्ठा पनि मैले नै गरेको हुँ । म त करिव करिव देवदूत नै हुँ । यस्तो देवदूतलाई त्यो तेल बेचुवाले हाराबारा खेलाउँछ भनेर नसोचे हुन्छ ।