दमक ।
प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनको चुनावमा काम छाडेरै भए पनि मतदान गर्न आग्रह गरेकी छन् । निर्वाचन कार्यतालिकाअनतर्गत मौन अवधि सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्कीको यस्तो अनुरोध आएको हो ।

सोमबार राष्ट्रका नाउँमा सम्बोधन गर्दै कार्कीले चुनावमा भोट हाल्नु भनेको कसैलाई जिताएर पठाउनु मात्रै नभएर आफू र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्नु भएको जिकिर गरिन् ।

उनले भनेकी छन् –‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु । शान्ति नै नेपालको असली पहिचान हो ।’

चुनावमा फरक विचारका बीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कार्कीले चुनावलाई लिएर मनमुटाव र वैमनस्य हुनुनहुने बताएकी हुन् । ‘म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु । तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो’, उनले भनेकी छन् ।

निर्वाचन सम्पन्न गर्न खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारीलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी छन् ।