
दमक ।
सामेबार मध्यरातबाट मौन अवधि सुरु भएको छ । आसन्न २१ फागुनको निर्वाचनका लागि मौन अवधि लागू भएको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि खुला गरेको चुनावी प्रचार प्रसार र घरदैलोको समयावधि सोमबार मध्यरातबाट सकिएको छ । यससँगै निर्वाचन प्रचार प्रसार र चुनावी घरदैलो कार्य बन्द भएको हो ।
मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन ।
निर्वाचन आयोगले मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल गर्न लगायतका क्रियाकलापमा रोक लगाइने जनाएको छ । आयोगका अनुसार ‘निर्वाचनलाई प्रभाव पार्ने गतिविधि माथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने’, उल्लेख छ ।
मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने गरी कुनै उम्मेदवारले आर्थिक कारोबार गरेको पाइएमा उम्मेदवारी खारेजी गर्ने र ६वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको आयोगको भनाइ छ ।