एआई निर्मित सांकेतिक तस्वीर ।

कमन देवान
जेन–जी उमेर समूहको विद्रोहले सिर्जना गरेको जेन–जी जनआन्दोलनको उपलब्धिका रूपमा तत्कालीन संसद विघटन भएर ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा छ, देश । २३ र २४ भदौमा भएको जेन–जी जनआन्दोलनपछि गठित अन्तरिम सरकारले आन्दोलनकारीका माग सम्बोधन गर्ने क्रममा संसद् विघटन र २१ फाुगनलाई निर्वाचन मिति तोकेपछि अगाडि बढेको नेपालको पछिल्लो राजनीतिक कोर्सको महत्त्वपूर्ण चरण पूरा हुँदैछ ।

आफूले गरेको मतदानबाट देश र जनताले खाजेको नेतृत्व र विचार प्राप्त हुन्छ कि हुँदैन ? यो पक्ष विचारणीय छ ।

राजनीतिमा शंकाको लाभका लागि स्थान रहने भएता पनि मुलुक राज्यविहीनताका आवस्थाबाट गुज्रिरहेको विषम् परिस्थितिमा ‘आवश्यकतको सिद्धान्त’का आधारमा आजको परिवेश निर्माण भएको विदितै छ । केही आलोचकहरूले भदौ महिनाको राजनीतिक परिघटनाका बारेमा विभिन्न कोणबाट विश्लेषण र विवेचना गरे । अनेक मतहरूका बावजुद ‘कन्पिरेसी थ्योरी’का विषयले सामाजिक सञ्जाल प्रयोगकर्ता मात्रै नभएर मिडियाहरूलाई समेत अल्गोरिदमको प्रभाव परेका घटना निकट विगत हुन् ।

तर, करिब ७ महिनाको अन्तरालमा नेपालको डिरेल्ड राजनीतिक प्रणाली, विधि, व्यवस्था, संविधान आदि पुरानै अवस्थामा फर्काउन सक्षम संसद् संघारको चुनावी परिणामले उपलब्ध गराउनेमा विश्वस्त हुनेपर्ने आधार निर्वाचन नै हो । यो बाध्यता पनि हो । यस मानेमा निर्वाचनले दिने ताजा जनादेशको पर्खाइ अब केही समयलाई मात्रै बाँकी छ । जसको अभ्यास २१ फागुनको बिहानीसँगै नेपाली बालिग मतदाता जनताबाट हुन्छ, यो सुखद् पक्ष हो ।

संविधानतः के हुन्थ्यो वा हुन्थेन भन्ने समय घर्किएर आवश्यकताको सिद्धान्तले देशका सामु अघि सारेको यो निर्वाचनभन्दा अर्को बलियो आधार छैन, जसले मुलुकलाई सार्वभौम नेपाली जनताको मतबाट निर्मित संविधानको मार्गमा देशलाई फिर्ता ल्याउने छ । त्यसैले यो अहम् जिम्मेवारीलाई पूरा गर्ने मुख्य अभिभारा मतदाता नागरिकको हो ।

नागरिकले आफूलाई सबैभन्दा शक्तिशाली रूपमा प्रस्तुत गर्ने भनेकै मतदान गर्दा हो । आफू कोबाट वा कस्तो सोच बोकका शासकबाट वा कति क्षमता भएका शासकबाट शासित हुन्छु भन्ने ऊ स्वयम्ले प्रदान गर्ने मतमा निर्भर हुन्छ । त्यसैले लोकतन्त्रमा जनताको मतको कदरसहित शासनलाई बैधता दिने आधार मानिन्छ निर्वाचनलाई । यसर्थ, मतदान गर्ने विषय सामान्य मतपत्रमा स्वास्तिक छाप लगाएर मात्रै पूरा हुने भन्ने होइन । आफूले गरेको मतदानबाट देश र जनताले खाजेको नेतृत्व र विचार प्राप्त हुन्छ कि हुँदैन ? यो पक्ष विचारणीय छ ।

जब यो वा त्यो भन्ने द्विविधाले सताउँछ ? दोधारेपनबाट मुक्त हुन छातीमा हात राखेर निर्णय लिनुपर्ने हुन्छ । त्यसैले साप्ताहिक बहसको यो विश्लेषणमा हामीले हरेक मतदाता नागरिकले मतदान गर्नुभन्दा अघि छातीमा हात राखेर सोचुन् भन्ने प्रसङ्ग उप्काएका हौँ ।

छातीमा हात राखेर सोच्नुहोस् ! तपार्इं किन मतदान गर्दै हुनुहुन्छ । आवधिक निर्वाचन ०८४ मा थियो । तर, ०८२ मै किन प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ? यो निर्वाचन रहर वा बाध्यताको निर्वाचन हो ? वा आवश्यकता र प्रतिकूलताले ल्याएको निर्वाचन हो ? मौन अवधिमा यी प्रश्नका जावफ खोज्दै जानुभो भने तपाईंले छातीमा हात राखेर देशको राजनीतिक परिस्थितिलाई बुझ्न सक्नुहुन्छ । किनकि २१ फागुनमा तपाईं मतदान गर्दै हुनुहुन्छ ।

‘छातीमा हात राखेर …’ यो वाक्यांशको आसय तपाईंको मतलाई प्रभावित पार्ने मनसायबाट प्रेरित भएर गर्न खोजिएको होइन । तपाईंका अगाडि आएको महान् जिम्मेवारीलाई पूरा गर्ने क्रममा तपाईंबाट कुनै पनि किसिमको भूल नहोस् भन्नलाई सचेत गराउनका लागि भने पक्कै हो । किनकि तपार्इंले गरेको मतदानले आगामी समयको देश शासित हुन्छ । मौन अवधिको समयलाई तपाईंले सही उम्मेदवार चयनका लागि सोच्न, विवेचना गर्ने समयका रूपमा उपयोग गर्न सक्नुहुन्छ ।

राजनीतिक सिद्धान्तले, पेशागत मर्यादाले, व्यक्तिगत सोच र आचरणले आम मानिस (मतदाता) का सोच, विचार, मूल्य, मान्यता, विश्वास, बाध्यता आदि फरक हुन्छन् । स्वाभाविक छ कि– निर्वाचन एउटा उत्सव र अवसर हो । जहाँ तपाईं मनले खाएकालाई मतले सम्मान गर्नुहुन्छ । यो तपाईंले गरेको सहयोग मात्रै होइन, अटुट विश्वास र भरोसा हो । तपाईंले देख्न चाहनुभएको समाजको कल्पनाचित्र तपाईंले मतपत्रमा छाप लगाउँदै गर्दा प्रतविम्बित भएको हुन्छ ।

संविधानको कार्यान्वयनलाई र विधिको शासनलाई जनताकै प्रतिनिधिमातहत ल्याउन यो निर्वाचनको जति अपरिहार्यता छ ।

निर्वाचनका सम्बन्धमा स्थापित सिद्धान्तमा निम्न चार कुरा पर्दछन् –

समानता : अर्थात् प्रत्येक योग्य नागरिकको मत बराबर हुन्छ । त्यसैले हरेक मतदातासँग योग्य प्रतिनिधि छान्ने अधिकार बराबर छ ।

गोपनीयता : कसले कसलाई मत दियो भन्ने कुरा गोप्य रहन्छ । त्यसैले तपाईंले आफ्नो प्रतिनिधि कसलाई चुन्न चाहेको हो ? त्यो गोप्य रहने हुँदा तपाईंले निर्धक्क भएर आफूले चुन्न चाहेको उम्मेदवारलाई र दललाई मतदान गर्न सक्नु हुन्छ ।

स्वतन्त्रता : डर धाक वा लोभबिना आफ्नो इच्छाअनुसार मतदान गर्न पाइन्छ । मतदान कसैके करकापमा होइन, आफूले रुचाएको उम्मेदवार र दलको चुनाव चिन्हमा गर्न सबै मतदाता स्वतन्त्र हुन्छन् ।

सार्वभौमिकता : एक निश्चित उमेर पुगेका सबै नागरिकले मत हाल्न पाउँछन् । नेपालको प्रचलित कानूनअनुसार १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम भएका नेपाली नागरिकले मतदान गर्न पाउँछन् । निर्वाचन आयोगले मतदाता परिचययपत्र, सवारी चालक अनुमपति पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाताको व्यक्तिगत जग्गाधनीपूर्जाजस्ता प्रमाणपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

निर्वाचनको सार्थकता मतदाताको मतदानप्रतिको उत्साहमा निर्भर रहनेबारे थप व्याख्या गर्नै परेन । त्यसैले मतदान अघि मौन अवधिको सुविधा लिएर तपाईंले छातीमा हात राखेर देशका जल्दाबल्दा मुद्दाहरू सम्झनु हुनेछ । संविधानको कार्यान्वयनलाई र विधिको शासनलाई जनताकै प्रतिनिधिमातहत ल्याउन यो निर्वाचनको जति अपरिहार्यता छ । त्यति नै यो निर्वाचनपछि बन्ने संसद् र सरकारले देशका यावत मुद्दाहरूको नेतृत्व गर्नुपर्नेछ । गाँसबास, कपास, शिक्षा स्वास्थ्य, रोजगारीका अतिरिक्त अन्य विविध मुद्दा छन् । नागरिक अधिकारको होला, समुदायको अधिकारको होला । मुद्दा जातिको, संस्कृतिको होला । मुद्दा अवसर र रोजगारीको होला । मुद्दा कृषिको होला, बजारको होला । असंख्य मुद्दाको सामना गर्न अब आउँदै गरेको बलियो सरकार निर्माणमा तपाईंको भूमिका कस्तो रहन्छ ? त्यसैले छातीमा हात राखेर एकपल्ट तपाईं आफैलाई प्रश्न गर्नुस् भन्न खोजिएको हो ।

यो त्यहि अवधि हो, जतिबेला तपाईंले दलका र उम्मेदवारका प्रतिबद्धता तौलने समय पाउनु हुन्छ । तिनमा कसी लाउनु हुन्छ । तिनका विगत हेर्नु हुन्छ, तिनले परिकल्पना गरेका देशको आगत हेर्नुहुन्छ । त्यसपछि तपाईंले छोएको मन र इमानले त्यसैले, तपाईं मतदान गर्न जानुभन्दा अगाडि पक्कै छातीमा हात राखेर देशको अवस्था सोच्नु हुनेछ । दूरदराजका नागरिककले भोगिरहेको असुविधा, सुत्केरी गराउन अस्पताल पुग्न नपाएकी महिला सम्झनु हुनेछ । शुद्ध पिउने पानी नपाएका देहादका वस्तीहरू सम्झनु हुनेछ । हरेक दिन देशमा अवसर नपाएर हुलकाहुल विदेश हिँडेका नेपाली युवाका ताँती पक्कै सम्झनु हुनेछ । देशभित्रका आर्थिक–सामाजिक असमानता र विभेद् सम्झनु हुनेछ । राजनीतिक पहुँच नपुग्दा विकासले हारेका वा विकास नै नदेखेका ठाउँ, क्षेत्र र समुदायको अवस्था मतदान गर्नुभन्दा अगाडि छातीमा हात राखेर सोच्नै पर्दछ ।

तपाईंले गरेको मतदानबाट सही उम्मेदवारले र दलले विजय मात्रै प्राप्त गर्न सक्नेछ । तपाईंकै मतको बलमा देशमा विद्यमान समस्याहरू समाधानका लागि नेतृत्व गर्नेछ । देशलाई आत्मनिर्भर र सबै नेपालीको साझा, गौरवशाली नेपाल निर्माणमा ठोस् योगदान गर्नेछ । नेपाल र नेपालीको स्थितिमा देखिने गरी र महसुस हुने गरी परिवर्तन गर्नेछ । त्यसैले त तपाईंले योग्य उम्मेदवार र दललाई विजय गराउन छातीमा हात राखेर सोख्नुपर्नेछ । सोचेर मतदान गर्नुपर्नेछ ।