-
कामदारको समय साइरन बज्ने दिन कहिले फर्केला ?
-
नयाँ अध्यक्ष आएपछि आशाका किरण छाएको छ उद्योगमा

खिया लागेका जुटमिल भित्रका मेसिन ।
सुजता लिम्बू
विराटनगर । जीर्ण गेट, खिया लागेर मक्किँदै गएका मेसिन र कारखानाका भित्ताहरूमा उम्रिएका झारले समयको निठुरताको साक्षी बकिरहेका छन् ।
कुनै बेला हजारौँ मजदुरका पाइला र मेसिनको आवाजले गुञ्जयमान हुने यो विशाल कारखानाभित्र अहिले कहालीलाग्दो सन्नाटा छाएको छ ।
तर, त्यो सन्नाटालाई चिरेर सुन्ने हो भने भग्नावशेषको कुना–कुनामा विगतका स्मृतिका पाना र मजदुरका पसिनाका धुमिल यादहरू अझै महसुस गर्न सकिन्छ ।
यो कुनै सामान्य खण्डहर होइन, नेपालको औद्योगिकीकरणको जग बसाल्ने पहिलो र ऐतिहासिक धरोहर हो, विराटनगर जुट मिल ।
कुनै समय यो कारखाना हजारौँ परिवारको भोक मेटाउने र उनीहरूको भविष्य सजाउने माध्यम मात्र थिएन, यसले विराटनगरलाई औद्योगिक नगरीको गौरवशाली पहिचान दिलाएको थियो ।
समग्र देशकै अर्थतन्त्रको मेरुदण्डको सहयोगी बनेको यो नेपालको पहिलो ठूलो उद्योग थियो । तर, आज यहाँ खियाले खाएका फलामका मेसिन र उर्जाशील उमेर यहीँ बिताएका पुराना मजदुरका विस्मृतिबाहेक केही भेटिँदैन ।
१७ वर्षको कलिलो उमेरमा जुट मिल्सको गेट पार गरेका ६६ वर्षीय डिल्लीकेशर पोखरेल खिया लागेको त्यही गेटअघि उभिएर सुनसान भवन नियालिरहेका थिए । विगत सम्झिँदै उनले मलिन हाँसोका साथ भने, ‘अब यहाँ घाँस काट्नबाहेक के पो छ र ?’
०३५ सालमा कलिला हातहरू लिएर जुट मिलको मेसिनसँग जोडिन पुगेका डिल्लीकेशरका आँखामा त्यो बेलाको झकिझकाउ कारखाना अझै पनि बेहुलीझैँ सजिएको याद बनेर बसेको छ ।
आफ्नो जीवनको सम्पूर्ण उर्जाशील समय यहीँ खर्चिएका उनी आज निर्जीव भग्नावशेषको जिउँदो साक्षी बनेर उभिएका छन् ।
जीर्ण भवनहरू देखाउँदै उनी भन्छन्, ‘यो पहिले त के थियो थियो नि ! अहिले यो अवस्था देख्दा त भक्कानो फुटेर रुन मन लाग्छ ।’
सन् १९३६ (वि.सं. १९९३ साल) मा स्थापना भएको यो उद्योगले नेपालमा औद्योगिक क्रान्तिको ढोका खोलेको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको पालामा रामलाल गोल्छासहितका भारतीय उद्योगपतिहरूको अगुवाइमा खुलेको यो मिलको उद्घाटन स्वयम् राणा प्रधानमन्त्री जुद्धशमशेरले नै गरेका थिए ।
डिल्लीकेशरको मस्तिष्कमा उबेलाको तामझामसहितको जुट मिलको दृश्य अझै क्यानभासझैँ कुँदिएको छ । त्योबेला जुट मिलमा जागिर खानुको रवाफ नै अर्कै थियो । उद्योगले आफ्ना कर्मचारीलाई दिने सेवा, सुविधा देखेर बैंकका कर्मचारी र सरकारी जागिरेहरूसमेत जागिर छाडेर मिलमा काम गर्न आउने लर्को उनले आफ्नै आँखाले देखेका थिए ।

डिल्लीकेशर पोखरेल
‘उबेला हरेक कुरामा सुविधा थियो । परिवारका कोही बिरामी परे भने मिलकै अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्थ्यो,’ विगतको कुरा सम्झिँदै डिल्लीकेशर भन्छन्, ‘यहाँ उपचार हुन नसके कोशी अस्पताल रेफर गरिन्थ्यो । त्यति मात्र होइन, अस्पताल जाँदा लागेको रिक्सा भाडाको बिलसमेत मिलले नै पास गरिदिन्थ्यो ।’
कामदारको चुल्हो कहिल्यै ननिभोस् भनेर मिल व्यवस्थापन निकै सचेत थियो । ‘कामदारलाई महिनामा २६ किलो चामल मिलकै तर्फबाट दिइन्थ्यो । कर्मचारी र मजदुर बस्नका लागि छुट्टै क्वार्टरको सुविधा थियो । सुत्केरी महिला र बालबालिकालाई मिलले नै पोषिलो खानासमेत दिने गथ्र्यो,’ उनी कथाझैँ लाग्ने विगतका यथार्थ सुनाउँछन्, ‘यहाँको कमाइले परिवारको भविष्य पूर्णरूपमा
सुनिश्चित थियो । तर, आज यो कारखानाकै भविष्य डामाडोल भयो, साह्रै दिक्क लाग्छ नि ।’
त्योबेला विराटनगरको रानी क्षेत्र (मिलएरिया) आर्थिक हिसाबले निकै गुल्जार र बलियो थियो । शनिबारको दिन मिल वरपरको माहोल दशैँ आएजस्तै हुन्थ्यो । उनी सम्झन्छन्, ‘शनिबार त हामीलाई दशैँ नै आएजस्तो हुन्थ्यो नि ! नुहाइधुवाइ गर्यो, मीठोमसिनो खाना बनायो, खायो, रमाइलो गर्यो। ओहो ! त्यो दिन सम्झिँदा अहिले पनि मन अर्कै हुन्छ । तर, मिल बन्द भएसँगै यहाँका सबै कारखाना सुके, बजार सुक्यो र अर्थतन्त्र नै ओरालो लाग्यो ।’
त्यसो त विराटनगर जुट मिलको इतिहास केवल उत्पादनसँग मात्र जोडिएको छैन, यो नेपालको आर्थिक र राजनीतिक इतिहासको प्रसूतिगृहभन्दा फरक नपर्दो हो ।
यही जुट मिलको विशाल कारोबार, यहाँबाट हुने निर्यात र त्यसले ल्याउने विदेशी मुद्रालाई व्यवस्थापन गर्नकै लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको इतिहास साक्षी छ । नेपाल सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्ने यही उद्योग भएकाले मालसामानको सहज आयात–निर्यातका लागि विराटनगर भन्सार कार्यालयको स्थापना भएको पुराना मजदुरहरू बताउँछन् ।
आर्थिक मात्र होइन, नेपालको राजनीतिक परिवर्तनको आँधी पनि यहीँबाट उठेको थियो । २००३ सालमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइरालालगायतका नेताहरूको नेतृत्वमा यही जुट मिलबाट नेपालको पहिलो ऐतिहासिक मजदुर आन्दोलन सुरु भएको थियो ।
मजदुरका हकहित र न्यूनतम ज्यालाको माग गर्दै सुरु भएको त्यो आन्दोलनले पछि गएर १०४ वर्षे जहानियाँ राणा शासनको जग मात्रै हल्लाएन, त्यो शासनलाई नै अन्त्य गरिदियो ।
जुट मिलको रेखदेखमा खटिएका ५५ वर्षीय सेक्युरिटी इन्चार्ज मनोज खड्का क्वार्टरको एउटा पुरानो भवन देखाउँदै भन्छन्, ‘गिरिजाबाबु ऊ त्यही क्वाटरमा बसेर पेन्टिङ गर्नुहुन्थ्यो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको दाइले त यहीँ काम गर्नुहुन्थ्यो, माधव नेपाल पनि बेलाबेला यहाँ आइरहनु हुन्थ्यो ।’
देशमा ठूला राजनीतिक परिवर्तन ल्याउने शीर्ष नेताहरू हुर्काएको यो उद्योगलाई तिनै नेताहरू पटक–पटक सत्तामा पुग्दा पनि संरक्षण गर्न नसकेको यथार्थले यहाँका मजदुरलाई निकै पोल्छ ।
डिल्लीकेशरले मिलभित्रको राजनीतिक हस्तक्षेपलाई नजिकबाट नियालेका छन् । उनका अनुसार पञ्चायत कालसम्म कारखानाको अवस्था ठीकै थियो, तर जब बहुदलीय व्यवस्था आयो, मिलभित्र कामभन्दा बढी राजनीति सुरु भयो । ‘बहुदल आएपछि सबै बिग्रियो । कतिपय श्रमिकहरू नेताको पछि लागेर हिँड्न थाले । काम कम र आन्दोलन बढी हुन थालेपछि उत्पादन घट्दै गयो र उद्योग घाटामा जान थाल्यो,’ उनी गुनासो गर्छन्, ‘मुख्य कुरा राजनीतिक चलखेल र अनावश्यक हस्तक्षेपकै कारण यो विशाल कारखाना बन्द भएको हो ।’

चार पुस्ताको नाता र भग्नावशेषको कुरुवा
सेक्युरिटी इन्चार्ज मनोज खड्काको परिवारको चार पुस्ता यही जुट मिलको माटोमा हुर्कियो । उनका हजुरबुबा ०४५ सालमा यहीँबाट रिटायर्ड भए । त्यसपछि उनका बुबाले यहाँ काम सुरु गरे । अहिले मनोज कामदार मात्रै होइन, त्यही मिलको रक्षाका लागि तैनाथ छन् ।
जुट मिलको रेखदेखको जिम्मेवारी पाएका उनी २५ वर्षदेखि सपरिवार यहीँको क्वार्टरमा बस्दै आएका छन् । ‘मैले यहाँ छोड्यो कि उद्योगका सरसामान चोरी हुन थाल्छ । त्यही भएर बुबा–आमालाई पर घरमा छोडेर म क्वार्टरमा बस्छु, डेढ वर्षदेखि कतै हिँडेको छैन,’ उनी भन्छन् ।
जीवनको विगत र वर्तमान, झरी–बादल, सजिलो–अप्ठ्यारो सबै यही माटोमा बिताएकाले उनलाई यो खण्डहर छाडेर कतै जान मन लाग्दैन ।
मनोजको अनुभवमा, संरचना पुरानो भए पनि ०४५ सालसम्म उद्योग निकै राम्रोसँग चलिरहेको थियो । तर, जब सरकारले सेयर होल्डरहरूसँग मिलेर काम गर्न थाल्यो, सेयर होल्डरहरूले बेवास्ता गर्न थाल्यो, उद्योग धरासायी बन्दै गयो ।
‘चेयरमेनहरू बारम्बार फेरिएर आए । कोही आउने चेयरमेनले उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्छु भनेर लाग्नुभयो, तर पार लागेन । विगत १० वर्षदेखि नेपाल सरकारले पठाएका प्रतिनिधिले इमानदारीपूर्वक काम नगर्दा आज यो अवस्था आएको हो,’ उनले भने ।
सरकारी व्यवस्थापनले मिल चलाउन नसकेपछि यसलाई पटक–पटक निजी क्षेत्रलाई लिजमा दिने प्रयास पनि भयो । भारतीय कम्पनी विन्समले यसलाई लिजमा लिएर डेढ–दुई वर्ष चलायो । तर, उद्योग चलाउन आवश्यक पर्ने डेडिकेटेड विद्युत् लाइनको अभाव देखाउँदै उसले २५ वर्षे सम्झौता बीचमै तोडेर हिँडेको उनले बताए ।
उनका अनुसार त्यसपछि ०५९ सालमा गोल्छा अर्गनाइजेसनले मिललाई लिजमा लियो । गोल्छाले दैनिक ५० टन जुट उत्पादन गरेर मिललाई पुनर्जीवन दिने आश जगाएको थियो । तर, पछि नेपाल सरकारसँग केही कुरा नमिलेको भन्दै उसले पनि छाडेर गयो । ऋण, राजनीति र चरम भ्रष्टाचारको दलदलमा फसेपछि अन्ततः ०७१ सालमा यो उद्योग पूर्ण रूपमा बन्द हुन पुग्यो ।
मनोज आफ्नो बाल्यकाल सम्झिन्छन्, ‘त्योबेला यति कडा सिस्टम थियो कि बगैँचामा फलेको फलफूल बिनाअनुमति कसैले टिप्यो भने सीधै जागिर जान्थ्यो । विराटनगर बाहिरबाट आउने साथीहरू मिलको भब्य आवरण देखेरै छक्क पर्थे । तर अहिले हेर्दा उराठ लाग्छ ।’
एउटा देशको बलियो अर्थतन्त्र बनेको उद्योग, जहाँ अनुमति पासबिना प्रवेशसमेत पाइँदैनथ्यो, आज त्यो भग्नावशेष लागुऔषध दुव्र्यसनीको अखडाजस्तै बनेको छ । ‘हामी दिनकै धेरैलाई यहाँबाट खेदाउँछौँ, पक्रेर प्रहरीको जिम्मा लगाउँछौँ, तर साध्य नै भएको छैन,’ मनोज दुःखेसो पोख्छन् ।
यतिखेर मनोजसहित ६ जना सेक्युरिटी गार्ड र अन्य ४ जना गरी जम्मा १० जना कर्मचारी मात्र यसको रेखदेखमा खटिएका छन् । जीवनको सबै उमेर खर्च भएको यो ठाउँ उजाडिएको हेर्न मन नलागेरै उनीहरूले आफ्नो जीवन यही भग्नावशेषको संरक्षणमा समर्पित गरिरहेका छन् ।
मौन साइरनको पर्खाइ र पुनर्जीवनको आश
कारखाना प्रवेशद्वार अगाडि समय निर्देश गर्ने पुरानो घण्टी अझै पनि उसैगरी झुन्डिएको छ । कामदारको समय अवधि तोक्ने त्यो साइरन बज्ने दिन कहिले फर्केला ? निर्जीव भएर पनि त्यो घण्टी वर्षौंदेखि शीत र घामसँग पौँठेजोरी खेल्दै त्यही आश र पर्खाइमा छ । कुनै समय कम्पनीभित्र छिर्दा छुट्टै संसारमा पुगेको जस्तो लाग्ने, अहिले त्यहाँ अवस्थित सबै वस्तुहरू परिवर्तनको आशामा चुपचाप बसिरहेका छन् ।
मिल पूर्णरूपमा बन्द भए पनि यो चल्ने सम्भावना अझै प्रवल रहेको जानकारहरू र कर्मचारी बताउँछन् । राज्यले मेसिनरी मर्मत र सञ्चालनका लागि करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने हो वा सही र इमानदार उद्योगपतिलाई लिजमा दिने हो भने अझै पनि १० हजार मानिसले प्रत्यक्ष रोजगारी पाउन सक्ने मनोजको दाबी छ ।
स्थानीय बासिन्दाको पनि एउटै चाहना छ, यो उद्योग फेरि सञ्चालनमा आओस् र आफ्ना छोराछोरीलाई रोजगारीका लागि खाडी मुलुक पठाउन नपरोस् । देशमा मुख्य समस्या नै बेरोजगारीको रहेकाले यो उद्योग सञ्चालनमा ल्याउनु पर्नेमा मनोजको पनि जोड छ ।
पछिल्लो समय यसलाई सञ्चालनमा ल्याउन फेरि केही आशाका किरणहरू देखिएका छन् । सरकारले राजेन्द्र कार्कीलाई नयाँ अध्यक्ष नियुक्त गरेर पठाएको छ । कार्की आएपछि अहिले उद्योगको सम्पूर्ण हिसाबकिताब र सम्पत्तिको लेखापरीक्षण (अडिट) को प्रक्रिया अघि बढाइएको छ । यो काम सकिएपछि साधारणसभामार्फत मिललाई लिजमा दिने वा राज्यले नै नयाँ मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय हुने बताइएको छ ।
के नयाँ बन्ने सरकारले यो भग्नावशेषको मौन गहिरो दुःख सुन्ला ? फेरि विराटनगर जुट मिलको चिम्नीबाट धुवाँ उड्ला र हजारौँ मजदुरको पसिनाले मेसिनका चक्काहरू घुम्लान् ? यो प्रश्नको उत्तर समयको गर्भमा र सिंहदरबारमा बस्नेहरूको इच्छाशक्तिमा लुकेको छ । तर, डिल्लीकेशर र मनोजहरू अझै पनि त्यही खिया लागेको गेटमा उभिएर मिलको साइरन बज्ने दिनको पर्खाइमा छन् । डिल्लीकेशर आशाले भरिएको स्वरमा भन्दै थिए, ‘उद्योग खुले अभैm पुरानो भएको नाताले रोजगारी पाइन्थ्यो कि ? बुढो हड्डी फेरि घोट्ने थिएँ ।’