‘मतपेटिका संकलनको २४ घण्टाभित्र नतिजा

२०८१ बैशाख १५ गते सम्पन्न इलाम २ को उपनिर्वाचनमा मतदान गर्दै एक महिला मतदाता ।

दमक । 

झापामा बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामामा सबै मतदानस्थल र मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् । यी मतदानस्थल र केन्द्रमा १० प्रतिशत बढी मतपत्र पुगेका छन् ।

यसपटकको निर्वाचनमा ४ हजार ९४५ स्थायी कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यी कर्मचारी स्थानीय तह, प्रदेश र सङ्घ मातहतका हुन् । केही शिक्षकलाई पनि निर्वाचन कार्यमा खटाइएको छ । यस्तै, २ हजार ४४५ जना सयमंसेवक खटिएको उनले बताए । उनीहरू सशुल्क कर्मचारी हुन् । स्थायी कर्मचारी ८ दिनका लागि निर्वाचनमा खटिएका हुन् भने सयमंसेवक तीन दिनका लागि खटिएको प्रमुख नेपालले बताए ।

विगतमा ७० देखि ७५ प्रतिशत मत खस्दै आएको झापामा यसपटक ९० प्रतिशत मतदान हुने अनुमान गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालको भनाइ छ । यहीअनुसार मतदाता शिक्षा पनि सञ्चालन गरिएको उनको भनाइ छ । यसपटक निर्वाचन सम्पन्न भएपछि मत गणना सुरु भएको २४ घण्टाभित्र पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गर्ने तयारी गरहेको उनले बताए । ‘भौगोलिक हिसाबले सहज भए पनि झापामा धेरै मतदाता छन् । तसर्थ, धेरै मतपेटिका हुन्छ । संकलन गर्दा राति १२ बज्ने सम्भावना छ,’ उनले भने, ‘मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर गणना सुरु हुन्छ । मतदानकै दिन गणना सुरु गर्ने तयारी भएको छ । मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक गर्ने तयारी छ ।’

झापाका पाँचवटै निर्वाचन क्षेत्रको मत गणना सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । यसका लागि आवश्यक तयारी सकिएको प्रमुख नेपालले बताए । उनका अनुसार मतगणनास्थलमा सिसी क्यामेरा जडानदेखि तारजालीलगायत सम्पूर्ण तयारी सकिएको छ । मतगणनामा तालिम प्राप्त तीन सय कर्मचारी खटिने उनले बताए । यसपटक पाँचभन्दा धेरै स्थानमा मतगणना गरिने तयारी गरिएको उनले बताए ।

कुल २८५ मतदानस्थल रहेको झापामा ४३ वटा मतदानस्थल समान्य, १४७ संवेदनशील र ९५ वटा अतिसंवेदनशील मतदानस्थल छन् । जसको सुरक्षाका लागि मतदानस्थलमा जाने कर्मचारीसँगै सुरक्षाकर्मी पनि परिचालन गरिसकिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

सुरक्षाका हिसाबले अतिंवेदनशील मानिएको झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी गरी ९ हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । नेपाल प्रहरी पहिलो, सशस्त्र दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिने उनले बताए । उनका अनुसार तीनै तहका सुरक्षा निकायले संयुक्त गस्ती र पेट्रोलिङ गरिरहेका छन् । यस्तै, यसपटक झापामा ढुक्क भएर मतदान गर्ने अवस्था रहेको बताउँदै उनले सबैलाई ढुक्क भएर मतदान गर्न आउन आग्रहसमेत गरे ।