नेकपा माओवादी केन्द्रले आफ्नो विद्रोही प्रदेशसभा सदस्यलाई कारबाही गर्न सकेको छैन् । मधेस प्रदेश सभा सदस्य रहबर अन्सारी र माला कर्णले संसदीय दलको ह्विप विपरित जाँदै पार्टीमा विद्रोह गरेपनि माओवादी केन्द्र मधेस प्रदेशको संसदीय दलले कारबाही गर्न सकेको छैन् ।

दलका नेता भरतप्रसाद साहले अहिले टेक्निकल प्रोब्लम रहेका कारण दुबैजनालाई कारबाही गर्न नसकिएको बताए । साहले नेकपा माओवादी केन्द्रसहित १० दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी अहिले निश्क्रिय जस्तै बनेको बताउँदै उनले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल नबनेसम्म कारबाही गर्न अफठ्यारो रहेको बताए ।

गत कार्तिक २२ गते पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले विश्वासको मत लिन बैठक बोलाएकोमा सत्तागठबन्धन भित्र रहेको माओवादी केन्द्रका दुई प्रदेशसभा सदस्यले विद्रोह गरेका थिए । अन्सारी र कर्णले आफ्नो पार्टी सोनललाई विश्वासको मत दिने भनेपनि आफूहरु तटस्थ बस्ने भनेपछि सोनल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

विश्वासको मत पाउने अवस्था नदेखेपछि सोनलले प्रदेशसभामै राजीनामा घोषणा गर्दै तत्कालिन प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । त्यसयता एक दिन प्रदेशसभा बैठक बसेकोमा कर्ण उपस्थित भएपनि अन्सारी अनुपस्थित थिए ।

गत बुधबार तत्कालिन सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको पद अनुकूल आचरण नगरेको प्रस्तावमाथिको छलफलमा कर्णले भाग लिँदै पार्टीको निर्देशन अनुसार नै मतदान गरेका थिए ।
अन्सारी प्रत्यक्ष तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित छन् भने कर्ण समानुपातिक सांसद हुन् ।