दमक ।

प्रवासी नेपालीहरूको सपना, संघर्ष र जीवनयात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘प्रवासी जीवन’ को विशेष शो बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा हुने भएको छ ।
फागुन ८ गते शिविरमा विशेष स्क्रीनिङ गरिने चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एन्जेला बस्नेत, गगन सुवेदी, दिव्या न्यौपाने, प्रसु गिरी, शिखा अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
उज्ज्वल भविष्यको सपना बोकेर विदेशिने नेपालीहरूको वास्तविक कथा चलचित्रमार्फत प्रस्तुत हुने निर्माण पक्षले दावी गरेको छ ।
श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशनमा बनेको चलचित्रले विशेष गरी अमेरिकातर्फ जाने नेपालीहरूको संघर्ष, उतारचढाव, मानसिक दबाब र स्थायित्वको खोजीलाई चित्रण गरेको बताइन्छ ।
अमेरिकाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको चलचित्र श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त निर्माण हो ।
यस चलचित्रको टिजर र ट्रेलर ओएस आर डिजिटल, क्युएफएक्स सिनेमास् र हाईलाइटस नेपालबाट सार्वजनिक भइसकेका छन् ।
चलचित्र आगामी फेब्रुअरी २७, २०२६ देखि देशव्यापी रूपमा प्रदर्शनमा आउने निर्माण पक्षको भनाइ छ ।
बेलडाँगी विशेष प्रदर्शन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन स्थानीय संयोजक बिरेन्द्र सुब्बा र उनको टोलीले गरिरहेको छ ।