
दमक ।
उदयपुरको गाईघाटमा सम्पन्न ‘रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२’ को उपाधि एपीएफ फुटबल क्लबले हात पारेको छ ।
शनिबार उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सम्पन्न रोमान्चक फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
दुई विभागीय टिमबीच भएको कडा फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो भने दोस्रो हाफमा आर्मीविरुद्ध एपीएफ आक्रमक रूपमा उत्रियो र बाजी मा¥यो ।
दोस्रो हाफको ५५ औँ मिनेटमा एपीएफकी डिफेन्डर गीता रानाले हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिएकी थिइन् । एपीएफका लागि खेलको ६८औँ मिनेटमा रेनुका नगरकोटीले गोल थप्दै टिमको जित सुनिश्चित गरेकी थिइन् ।
आर्मीका तर्फबाट खेलको ७२औँ मिनेटमा जेनिफर रानामगरले एक गोल फर्काइन् । तर, उनको यो योगदान आर्मीको पराजय टार्न सकेन ।
उपाधिसँगै एपीएफले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँ पायो ।
फाइनल खेलको प्लेयर अफ दी म्याच एपीएफकी गिता राना भइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको प्रतियोगितामा जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजना रहेको थियो ।
तीन विभागीय टोलीसहित देशभरका १० शीर्ष महिला टोली सहभागी रहेको प्रतियोगितामा आर्मीकी दिपा शाही मोष्ट भेलुएबल प्लेयर घोषित भइन् । उनले नगद ५० हजार र ट्रफी पाइन् । त्यस्तै व्यक्तिगत १२ गोल गरेकी एपीएफकी रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकर्ताका रूपमा नगद ५० हजारसहित पुरस्कृत भइन् भने एपीएफकै गोलरक्षक अञ्जना रानामगर उत्कृष्ट गोलरक्षक बन्दै नगद ५० हजार प्राप्त गरिन् ।